Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

इरानमा १६ नेपाली नागरिक, पाँच जना जेलमा

युद्धग्रस्त इरानमा रहेका १६ जनामध्ये ११ नेपाली नागरिक भोलिसम्म भारत आइपुग्ने परराष्ट्र मन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन्। तेहरानबाट उनीहरू इरानको मदस शहरमा पुगेको मन्त्री देउवाले जानकारी दिइन्।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री देउवाले इरानमा रहेका नागरिकलाई भारतले उद्धार गरेर ल्याइदिन लागेको बताएकी हुन्। ‘१६ जना नागरिक इरानमा हुनुहुँदोरहेछ, भारत सरकारले नेपालीलाई पनि उद्धार गरेर ल्याइदिन्छु भनेको छ । ११ जना मसदमा आइपुग्नु भएको छ, सायद भोलि भारतमा आउनु हुन्छ’ मन्त्री देउवाले भनिन्, ‘गैरकानूनी ढंगले गएका पाँच जना जेलमा छन्। यही बेला रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका छौं।’

मन्त्री देउवाले इरान–इराजालयबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्तै गम्भीरताका साथ नियालिरहेको बताएकी छन्। ‘ती क्षेत्रमा नेपालीको सुरक्षालाई उच्च प्राथमिकता साथ कार्य गर्दै आइरहेको छौं। इजरायल र इरानमा रहेका नागरिकलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेका छौं’, मन्त्री देउवाले भनिन्।

पछिल्लो अवस्थाबारे हरेक दिन बेलुका, इजिप्ट, कतार र पाकिस्तानमा रहेका राजदूतसँग नागरिकलाई उद्धार गर्न पर्‍यो भने कस्तो रणनीति लिने भनेर छलफल गरिरहेको मन्त्री देउवाले बताइन्।