Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लुम्बिनीकी सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरूद्व पक्राउ पुर्जी जारी भएको छ। जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

पर्साको पोखरियाकी आशाकुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्। जनमतकै नेतृ आशाकुमारीसँग सुमनले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन्। फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो । सांसद रायमाझी हाल फरार छिन्।

उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो। अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ। यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ।