Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तीनकुने घटना दुर्गा प्रसाईले होइन, राज्य आतंकले भएको हो : धवलशम्शेर

‘तीनकुने घटना छानविन गर्न सरकार किन डराइरहेको छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणाले तीनकुने घटनामा राज्यले नै आतंक मच्चाएको दावी गरेका छन्। आज (आइतबार) प्रतिनिधि सभा बैठकमा बोल्दै तीनकुने घटना राज्यले नै भड्काएको बताए। उनले संयुक्त जनआन्दोलन समितिले तोकेका कमाण्डर दुर्गा प्रसाईंले गर्दा पनि नभई सरकारकै कारण भएको आरोप लगाए।

‘घटना भएको, दुर्घटना भएको हामीले होइन, राज्यको आतंकले हो । दुर्गाजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ,’ उनले भने, ‘उहाँले पनि होइन राज्यले आतंक मच्चाएको हो । जनता भड्किएको हो । राज्यले भड्काएर त्यो घटना भएको हो। त्यसको लागि पनि छानबिनको माग गरेका छौं । सरकार छानबिन गर्न किन डराइरहेको छ मैले बुझिनँ ।’

उनले तीनकुने घटना हुँदा प्रहरीले घरमाथिबाट अश्रुग्यास हानेको र मञ्चमा राष्ट्रगान बजिरहँदा नै अश्रुग्यास प्रहार गरेको बताएका छन्। त्यस्तो घटना पहिले कहिल्यै अनुभव गरेको छ भनेर पनि प्रश्न गरेका छन्।

‘चैत १५ गते तीनकुनेमा भएको घटना पनि राज्यको आतंकले व्यक्ति हत्या भएको छ, व्यक्ति जलेको छ । घर–घरमाथिबाट आश्रुग्यास हानेको छ। मञ्चमा राष्ट्रगान बज्दाखेरि मञ्चमा अश्रुग्यास आएको छ। अहिलेसम्म कति आन्दोलन भयो, हामी सबैले आन्दोलन थेगेका छौं। कहिले पनि मञ्चमा अश्रुग्यास आएको थाहा पाएको छ?,’ उनले सोधे। गत सातामात्रै जिल्ला अदालत काठमाडौंले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । पुर्पक्षको लागि धरौटीमा रिहा भएसँगै राणा प्रतिनिधि सभामा सहभागी भएका हुन्।