Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

दोस्रो पटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल

रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो।

यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो। तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको मन्थली नगरपालिका–७ मुगिटारका सुरज श्रेष्ठले बताए । पुल भत्किएपछि अहिले सो ठाउँमा स्थानीयहरुको भिड लागेको छ। यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो। कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुल भत्किएको हो।

२०७८/७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो। कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडामा सनर्माण भइरहेको थियो।सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो।

उक्त रकम मध्ये करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिसकेको छ। यो पुल निर्माण पश्चात् काठमाडौँ रामेछापका लागि सहज यात्रा हुने आसा गरिएको थियो। यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी, दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न वडा पुग्न सहज हुने विश्वास लिइएको थियो।