Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विप्लवले निवासमै पुगेर भेटे झलनाथ, बाबुराम र मोहनविक्रमलाई, के-के भयो कुराकानी?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शीर्ष नेताहरुसँगको भेटघाट बढाएका छन्। विप्लवले विभिन्न तीन दलका नेताहरुसँग उनीहरुको निवासमै पुगेर भेटवार्ता गरेका छन्। विप्लवले पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई भेटेका छन्।

खनालसँग भेट गर्न चन्द पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लिएर उनकै निवास पुगेका हुन् । भेटमा वर्तमान राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल भएको प्रवक्ता विश्वकर्माले बताएका छन् । चन्दले यसअघि मसाल महामन्त्री मोहनविक्रम सिंह र नयाँ शक्ति अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट गरेका थिए।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार महासचिव चन्दले शुक्रबार (आज) छुट्टाछुट्टै समयमा सिंह र भट्टराईलाई भेटेका थिए । चन्द उनीहरूलाई भेट्न उनीहरूकै निवास पुगेका थिए।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रवक्ता विश्वकर्माले जानकारी दिए। चन्दले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकतामा ढिलाइ भइरहेको बताउने गरेका छन् । आफूहरू तयार रहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण एकतामा ढिलाइ भइरहेको बताउने गरेका छन्।