Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रनको योगफल तयार पारेको हो।

सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए । ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। सकिव जुल्फिकर ११ बलमा २ चौका सहयोगमा १४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आउट भए। नेपालका लागि करण केसीले दुई विकेट लिए ।

ललित राजवंशी, दिपेन्द्र सिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।