Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेकपा एसका उपमहासचिव चौधरीविरूद्ध उजुरी

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ।

चौधरीविरुद्ध बुधबार हुलाकमार्फत चेक अनादर कसुरमा उजुरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्। उनले यसबारे आफूहरु छलफलमा रहेको समेत बताए। चौधरीविरूद्ध एभेरेस्ट बैंकको पाँच करोड ४० लाखको चेक अनादरको उजुरी परेको प्रहरी स्रोतले जनाएको छ।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले उजुरी दिएका प्रहरीले जनाएको छ। हुलाकमार्फत परेको उजुरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ । ‘उजुरीवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ। सनाखत भएपछि अनुसन्धानको प्रक्रियामा अघि बढ्छ,’ स्रोतले भन्यो, ‘हस्ताक्षर नमिलेर चेक बाउन्स भएको भन्ने कुरा छ। हामी हेर्दैछौं ।’

चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।