Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भ्रमपूर्ण र अपशब्द प्रयोग गरेर भिडियो बनाउने 'ड्राइभर रेशम' पक्राउ

विभिन्न सामाजिक सञ्जाल तथा युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्द प्रयोग गरेर भिडियो बनाउने ड्राइभर रेशम भन्ने रेशम राज पौडेल पक्राउ परेका छन् ।  

उनलाई साइबर ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको जानकारी दिएको छ । 

ब्यूरोले भनेको छ- 'कानूनले वर्जित गरेका शब्द र सामाग्रीहरू प्रसारण गरी, नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा बाग्लुङ जिल्ला, निसिखोला गाउँपालिका वडा नं. ४ वतन हुने वर्ष ३६ को ड्राइभर रेशम भन्ने रेशम राज पौडेलको संलग्नता खुल्न आई निज उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीको सहयोगमा मिति २०८२/०३/०२ गते नेपालगन्जको रूपैडियाबाट पक्राउ गरिएको छ ।'

ब्यूरोले उनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।