Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने

खानेपानीमन्त्री प्रदीप यादवले बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन् । 

उनले भने,‘काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परिक्षण भएको छ । बर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेकाछौँ ।’

Photo (6) (2).jpg

बर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँ बासीलाइ उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा बितरण गरिने मन्त्री यादवले जानकारी दिए ।  उनले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दीगो समाधान गर्ने अपेक्षा गरिएको छ । अब काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुस्ख पाउनु पर्दैन । हामी जिम्मेवार सरकार हौँ, जनताको प्राथमिकता बुझ्नु र समाधान गर्नु हाम्रो दायित्व हो ।’ 

रिबर्माको पानी परिक्षण गरिएसँगै वर्षायामको बेला हरेक वर्ष मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै मन्त्री यादवको सक्रिय पहलमा यसपालि वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा आउने सुनिश्चित भएको बताइएको छ ।  बर्षातको समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए ।

Photo (2) (3).jpg

 उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परिक्षण गरिएको छ । अब बर्षातको समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।’

विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक ई लामिछानेले बताए ।  मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू त्यहाँ २४ सै घण्टा खटिएका छन् भने बाढी लगायतको उच्च जोखिमलाई समेत मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको जनाइएको छ ।

Photo (8).jpg

वि.सं २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा र्पुयाएको क्षतिपछि बर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो ।

Photo (5) (1).jpg