नेकपा एमालेका पुर्व नेता भीम रावलले केपी शर्मा ओलीमा चतुर्याई प्रवृत्ति रहेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा नेता रावलले ओलीले आफुलाई पछिल्लो दिनमा कैयौं आरोप लगाएको उल्लेख गर्दै ति आरोप आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न कसैतर्फ औंल्याएर चोखो देखिने चतुर्याई प्रवृत्ति ओलीमा रहेको बताएका हुन् ।
उनले जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यता विपरीत ओलीका अनेकौं विचार, व्यवहार र प्रवृत्ति सबैले थाहा पाउने गरी छताछुल्ल भएको समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
केही दिन अघि दक्षिणपन्थी देउवा - महन्थ - सीके गठबन्धनका प्रधानमन्त्री तथा बामालेका “झोले” अध्यक्ष के.पी. ओलीबाट विद्यार्थीको एउटा कार्यक्रममा मेरो विरुद्ध पार्टी प्रति कहिल्यै “पजिटिभ” नभएको, पार्टीको “समर्थन” नगर्ने र “ढुङ्गा” हान्ने “अराजक ”, “ फाइदा र पद खोज्ने” भनी दिइएका अभिव्यक्तिबारे विगतमा म लगायत कसले के गरेछ र के भएछ भनी एक हप्ता गम्भीर अध्ययन गरें ।
“झोले” प्रधानमन्त्रीबाट मेरो विरुद्ध लगाइएका आरोप हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण देखिए । मलाई लगाइएका आरोप यथार्थमा ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवत्तिलाई झल्काउने रहेछन् । देश, जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यता विपरीत ओलीका अनेकौं विचार, व्यवहार र प्रवृत्ति सबैले थाहा पाउने गरी छताछुल्ल भएकै रहेछन् । आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न त्यस्ता कुरा आफुले गर्दै नगर्ने भनेर वा अरु कसैतर्फ औंल्याएर चोखो देखिने चतुर्याई प्रवृत्ति ओलीमा रहेको अनेक तथ्य र घटनाले प्रष्ट पार्दै आएका पनि छन् । मेरो बारेमा ओलीका आरोपहरु पनि उक्त चतुऱ्याइकै उपज हुन् ।
मैले गत पुष महिनामा नै ओलीका देश, जनता, नेपालको संविधान तथा एमालेको सिद्धान्त, कार्यक्रम र मान्यता विरोधी क्रियाकलाप, विचार र प्रवृत्तिको बारेमा तथ्यगत किसिमले विस्तृत रुपमा स्पष्ट गरेको थिएँ । मैले अघि सारेका कुनै तथ्यको खण्डन र उठाएका प्रश्नको जवाफ “ झोले” हरुले आजसम्म दिनसकेको छैन । तरपनि “झोले” अध्यक्षद्वारा सार्वजनिक कार्यक्रम मार्फत तथ्यमा पुनः प्रकाश पार्न मलाई झक्झक्याइएकोले केही ज्वलन्त तथ्यको चर्चा क्रमशः हुने नै छ ।