Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

माओवादीले छेपारोझैं रङ फेर्‍यो, सदन चल्न दिँदैनौं: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन्। सभामुख र प्रमुख सचेतकहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विरोधका कार्यक्रम जारी रहने बताएका हुन्।

‘छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनु पर्छ। गृह मन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ,’ उनले भने।

शाहीले शुक्रबार गृहमन्त्रीले संसदमा धम्कीपूर्ण भाषा प्रयोग गरेको पनि बताएका छन्। ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नु पर्छ,’ उनले भने । उनले माओवादी केन्द्रले छेपारोझैं रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने पनि स्पष्ट पारेका छन्।