Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अमरेशले बोल्न मानेनन्, ज्ञानेन्द्र शाहीले सभामुखलाई भने–दादागिरी बन्द गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरेपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आकस्मिक समयमा बोल्न अस्वीकार गरेका छन्। सभामुख देवराज घिमिरेले बोल्न समय दिए पनि सिंहले नाराबाजी भइरहेको भन्दै आफूले नबोल्ने बताएका हुन्। त्यसपछि सभामुखले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिए।

उनले पनि नाराबाजीका बीच संसद चलाउनु दादागिरी भएको भन्दै बन्द गर्न चेतावनी दिए। उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सबैले साथ दिनुपर्ने भन्दै थप केही नबोल्ने बताएका छन्। राप्रपाले आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको हो। आइतबार पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् । रास्वपा सांसदले वेल घेराउ गरेका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषयमा साथ दिन आग्रह गरे। ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन’, उनले भने, ‘उहाँहरू पनि, हामी पनि जनता जिताएको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गरियोस् भन्नेमा सबैले साथ दिनुस्।’

राप्रपा र रास्वपाका सांसद्को अवरोधबीच सभामुख देवराज घिमिरेले संसद् बैठकको कार्य अघि बढाएका छन्।