Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाले संसदमा अशोभनीय व्यवहार देखायो, अल्झिएर बस्दैनौंः एमाले

सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसकिने बताएका छन्। सभामुख देवराज घिमिरेसँग प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले संसदलाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने बताएका हुन्।

उनले संसद आइतबारदेखि आफ्नो नियमावलीअनुसार अघि बढ्ने पनि बताए। ‘उहाँहरुको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ । आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ ,’ उनले भने। उनले रास्वपाले संसदमा अशोभनीय व्यवहार गरेको पनि आरोप लगाए।

‘सभामुख ज्युले शोक प्रस्ताव राख्दा पनि उहाँहरु वेल घेराउको क्रममा रहनु भयो । त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रस्ताव भनेको एउटा सम्मान हो। त्यतिबेला उहाँहरुले आसन ग्रहण गर्नु पर्दथ्यो । वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो। सरकारी बिजनेस कार्यसूचीबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने। डायरीले टेबल ठटाउने जस्ता अशोभनीय व्यवहार गर्नुभयो। यस्तो प्रवृत्ति संसदमा देखिनु राम्रो होइन,’ उनले भने।

प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्वपूर्ण विधेयकहरु आजको संसद बैठकबाट अघि बढाइने जानकारी दिए।