राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा विरोध जारी राख्ने भएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन्।
आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन्। जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।
यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन्। भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिसँगै माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ। संसद् बैठक ११ बजे बस्दैछ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन्। त्यस्तै,उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२ / ०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।