Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सत्ता चलाउनेहरु जनविरोधी रहेछन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित भयो: सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली राज्य र सत्ता चलाउनेहरु कुन हदसम्म जनविरोधी छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले जनताको सुविधाको लागि राज्य बनाए पनि नेपालको राज्य नागरिकलाई दुःख दिने खालको भएको भन्दै यसकारण सदनमा सहमति नगरेर आन्दोलन जारी राखेको बताए ।

 उनले भने, ‘नेपाली राज्य कुन हदसम्म जनविरोधी छ, सरकार र सत्ता चलाउनेहरु कुन हदसम्म जनतालाई दुख दिने खालका छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको छ । त्यसकारणले पनि हामीले सहमती गरेनौ । लामो समयदेखि नीति र संरचना बनाएर जनताको सजिलोको लागि यो राज्य बनाएको हो । तर हाम्रो राज्य कस्तो भएछ भने नीति र संरचना बनाएर नागरिकलाई दुःख दिने खालको बनाएका रहेछौ । त्यसकारण पनि हामीले सदनमा सहमति नगरेर आन्दोलन जारी राखेका हौ ।’ 

उनले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट यो देश विकास नहुने बताएका छन् । 
रवि लामिछानेमाथि षड्यन्त्र गरेर रास्वपा समाप्त होइन झन सांगठनिक हिसाबमा सबैभन्दा बलियो भएको भन्दै अब काङ्ग्रेस, एमाले र माओवादीबाट देश विकास नहुने बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट अब यो देशलाई न्याय र विकास हुदैँन् । यीनिहरुलाई लागेको थियो रवि लामिछानेमाथि षड्यन्त्र गरेर जेल हालिदिएपछि सिंगो रास्वपा समाप्त हुन्छ भन्ने । तर यहाँसम्म आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी हिजोभन्दा आज सांगठनिक हिसाबमा सबैभन्दा बलियो भएको छ ।’ यस्तै, उनले रवि लामिछानेको नेतृत्वमा सुरु भएको संघर्षले गर्दा आम मान्छे सदनसम्म पुग्ने मौका पाएको भन्दै विगतका लोकतन्त्रवादी, समाजवादी र कम्युनिष्ट भन्नेहरुले आम नागरिकलाई राज्य सत्ताको पहुँचमा नपु¥याएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिमा तपाईहामी जस्ता आम गरिखाने मान्छेले पहुँच राख्न सक्दैँन् । आज त हामीले रवि लामिछानेको नेतृत्वमा एउटा संघर्ष सुरु गरेको हुनाले सन्तोष परियारजस्तो आम मान्छे सदनसम्म पुग्ने मौका पायो । विगतका मै हुँ भन्ने लोकतन्त्रवादी, समाजवादी र आफूलाई कम्युनिष्ट भन्नेहरुले पनि आम नागरिकलाई राज्य सत्ताको पहुँचमा पु¥याएका छैनन् । सधैँ त्यही वर्ग, जाति र समुदायले नेपाली राजनीति र सत्ता चलायो ।’

सात दशकभन्दा लामो समय शासन गरेर पनि निश्चित समूहको भन्दा अन्य समूहको हित नगर्ने, नेपाली, मधेश, पहाड, दलित, महिलाको हित नगर्ने यस्ता राजनीति पार्टीहरु चाहिएन् भनेर नै राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको उनको भनाइ थियो ।