Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

एयर इन्डियाको विमान दुर्घटनामा बचेका विश्वासले के भने ?

एयर इन्डियाको अहमदाबादमा भएको विमान दुर्घटनामा कम्तिमा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक भारतीय मुलका बेलायती यात्रु दुर्घटनाबाट सकुशल रहेका छन् ।

सकुशल रहेका यात्रु लन्डनका लागि उडेको बोइङ ७८७-८ उडानमा थिए र सिट नम्बर ११ए मा बसेका थिए । यी यात्रु भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश रहेका छन् ।

एयर इन्डियाले विमानमा यात्रा गरेका २४२ जना मध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो ।  जसमा १२ जना विमानका चालक दलका सदस्य रहेका थिए ।  मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ । 

स्थानीय मिडिया रिपोर्टका अनुसार, अस्पतालको ओछ्यानमा सुतिरहेका विश्वास कुमार रमेशले पत्रकारहरूलाई आफ्नो बोर्डिङ पास पनि देखाए, जसमा उनको नाम र सिट नम्बर रेकर्ड गरिएको थियो । रमेशले मिडियालाई भने- 'उडान भरेको ३० सेकेन्ड पछि, ठूलो आवाज सुनियो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । यो सबै केही क्षणमा भयो ।' 

रमेशले पत्रकारहरूलाई भने- 'जब म होशमा आएँ, मेरो वरिपरि लाशहरू छरिएका थिए । म धेरै डराएँ । म उठे र दौडन थाले । मेरो वरिपरि विमानको भग्नावशेष छरिएको थियो । कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो ।'  उनले उनका भाइ अजय विमानमा अर्को पङ्क्तिमा बसिरहेको बताएका छन् । उनले भने- 'उनी मसँग यात्रा गरिरहेका थिए र मैले उनलाई फेला पार्न सकिन । कृपया मलाई उनलाई खोज्न मद्दत गर्नुहोस् ।'

बेलायतको लेस्टरमा रहेका विश्वास कुमार रमेशका काका अजय वाल्गीले बिबिसीसँग कुरा गर्दै विश्वासले आफ्नो परिवारलाई फोन गरेर आफू 'ठिक' रहेको जानकारी गराएको बताएका छन् । विश्वासकी श्रीमती र छोराछोरी बेलायतमा छन् । रमेश भारतमा जन्मेका थिए तर धेरै वर्षदेखि बेलायतमा बस्दै आएका छन् ।