Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अनेरास्ववियुको मतदान सम्पन्न, नतिजा केहि घण्टामा आउने

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनको मतदान सम्पन्न भएको छ ।

विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ प्रतिनिधि मध्ये १४५० प्रतिनिधिले मतदान गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । मतदानका लागि ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको थियो ।

केहि बेरमा मत गणना हुने र करिब २ घण्टामै मत परिणाम आउने बताइएको छ । यसअघि बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको थियो । तर निर्वाचन कमिटीले सुरक्षा निकायको सुझाव अनुसार निर्वाचन विहिबारका लागि सारेको थियो ।

नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा रहेको छ ।  त्यस्तै एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ । त्यसैगरी महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।  महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार रहेका छन् ।

यस निर्वाचनले अनेरास्ववियुको ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।  अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।