संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलका नेताहरुबीच छलफल जारी छ। सभामुखको कार्यकक्षमा जारी छलफलमा सभामुखसहित उपसभामुख, विपक्षी दल माओवादीका नेता प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।
भिजिट भिसा प्रकरणले अवरुद्ध हुँदै आएको संसद बैठक खुलाउने विषयमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छुट्टै पाँच बुँदे प्रस्ताव ल्याएको छ। सत्ता पक्षले उक्त प्रस्ताव अस्वीकार गरेपछि संसदको अवरोध खुलाउने विषयमा सहमति जुट्न सकेको छैन । सदन खुलाउने विषयमा यसअघि बिहीबार नै सत्तारूढ एमाले, कांग्रेसका नेताहरूले माओवादी नेताहरूसँग छलफल गरेका थिए।
प्रचण्डले पनि प्रतिपक्षी दलहरूसँग छलफल गरे । उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छुट्टै भेटवार्ता समेत गरेका थिए । प्रतिनिधिसभाले विपक्षी दलको निरन्तरको अवरोध झेलिरहेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलले जेठ १३ देखि संसद्मा अवरोध कायम राखेका छन्। सत्तारुढ नेकपा एमाले र कांग्रेसले भने गृहमन्त्रीमाथि छानबिन आवश्यक नभएको बताउँदै आएका छन्। पछिल्लो समय विपक्षी दल गृहमन्त्रीको राजीनामाको अडान छाडेर उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने प्रस्तावमा पुगेका छन्। तर, यसमा पनि विपक्षी र सत्तारूढ दलबीच सहमति जुट्न सकेको छैन।
जेठ १३ गतेदेखि अवरोध गरेका विपक्षी दलले १५ गते बजेट ल्याउन दिए पनि त्यसपछिका बैठक अवरुद्ध गर्दै आएका छन्। संसद् बैठक अवरुद्ध हुँदा नयाँ बजेटमाथिको छलफल अलपत्र बनेको छ। यसअघि बुधबार सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक आज बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका थिए। बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक निर्धारित समयमा बस्न सकेन। शुरूमा सूचना टाँस गरेर ३ः१५ बजेलाई सारिएको बैठक सभामुखले ढिलागरी शुरू गरेका थिए। तर, विपक्षीको अवरोध कायमै रहेपछि बिहीबार दिउँसो ३ बजेका लागि सारिएको थियो।