Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विश्वकप लिग–२ः नेदरल्यान्ड्सलाई हराउँदै नेपाल विजयी

आइसीसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन-तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे।

नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए। उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए।

यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५-३५ रन बनाए। यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए। सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए। नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए।