Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ। राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे।

‘गृहमन्त्रीले बदमासी गर्नु भएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ।छानबिनका लागि तयार हुनुपर्छ’, सांसद आले मगरले भने । उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमन जस्तो महत्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे।

‘भारतमा कोरोना बढ्दैछ, सचेत बनौं’
सभाको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहेकाले सीमावर्ती नाकामा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउन आग्रह गरे । सांसद गोमादेवी तिमिल्सिनाले कोरोना संक्रमण फैलन नदिन सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सोनामग्याल्जेन शेर्पाले सोलुखुम्बुको थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरिन्। सांसद जगतबहादुर पार्की, नरबहादुर विष्ट, नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, मदनकुमारी शाह गरिमा, युवराज शर्मा र राजेन्द्रलक्ष्मी गैरेले समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराए।