सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत ९३ जनाविरूद्धको भ्रष्टाचार मुद्दामा सरकारको कुनै हात नभएको बताएका छन्। संविधानले बनाएको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको भन्दै उनले अदातलमा अभियोजनमा गएको मुद्दामा टिकाटिप्पणी नगर्ने बताए।
अदालतले दोषीलाई नछाड्ने र निर्दोषलाई अन्याय हुन नदिने उनले बताएका छन्। महामन्त्री थापाले भिजिट भिसा प्रकरणका बिषयमा संसदमा कुरा उठेकाले त्यहाँका केही कर्मचारीका विषयमा अख्तियारले नै अनुसन्धान गरिरेहकाले अहिले नै यस विषयमा बोल्नु भन्दा अनुसन्धानलाई कुनै पनि निकायले प्रभावित गर्न नदिने गरी काम गराउन कांग्रेस पार्टी लागेको बताए। अहिलेको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम गर्न नसकेको बताउँदै नेपाली कांग्रेस पार्टीमा निरन्तर रूपमा यस विषयमा छलफल भइरहेको उनले बताएका छन्।
सत्तामा नेपाली कांग्रेस पनि भएकाले नेपाली जनताको अपेक्षा अनुसारको काम गराउन कांग्रेस लागि रहेको उनको दावी थियो। संविधान संशोधनको विषयका लागि छिट्टै समिति निर्माण गरी काम अगाडि बढाउन सत्ता–साझेदार दलहरू एक ठाउँमा उभिएको बताए। नेपाली कांग्रेसको १५औं महाधिवेशनको कुरा गर्ने समय नआइसकेको भन्दै १४ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्न लागेको पनि उनले बताएका छन्।
उनले २०८३ साल अगाडि महाधिवेशनको मिति सार्न नमिल्ने पनि स्पष्ट पारेका छन्।