Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि खनालले भने– घटना दुःखद र गम्भीर

नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पार्टी अध्यक्ष नेपालविरुद्ध दायर मुद्दालाई एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुःखद भएको प्रतिक्रिया दिएका छन्। ‘यो घटनाबारे भर्खर सुनियो, यसबारेमा पार्टीभित्र पनि कुनै छलफल भएको छैन, घटनाक्रमको समग्र जानकारी पनि प्राप्त भइसकेको छैन । तर घटना धेरै दुःखद छ’, खनालले भने, ‘यसबारेमा सबै तथ्य बुझेर मात्र प्रतिक्रिया दिनु उपयुक्त छ ।’ उनले नेपालको इतिहासमै पहिलो पटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए।

‘के भएको हो ? कसो हो ? पूर्वाग्रह हो वा अन्य केही छ तर पूर्व प्रधानमन्त्रीमाथि मुद्दा लागेको घटना नेपालकै इतिहासमा यो पहिलो हो’, खनालले भने, ‘विषय बडो गम्भीर हो। यस्ता कुरामा हचुवामा टिकाटिप्पणी गर्नु राम्रो होइन।’ नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । सरकारबाट हदबन्दी छुटमा पाएको उक्त जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो।