१७ वर्ष लामो प्रतिक्षा पछि रॉयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले पहिलो पटक आईपीएलको उपाधि जितेपछि मंगलबार राति सम्पूर्ण शहर उत्सवमय बनेको थियो। यस ऐतिहासिक जितको खुशी मनाउन बुधबार बेंगलुरुको चिन्नास्वामी स्टेडियममा विशेष विजय जुलुस कार्यक्रम आयोजना गरिएको थियो। तर उक्त कार्यक्रम सुरु हुनु अघि नै ठूलो भीडका कारण उत्पन्न भागदौडले उत्सवलाई शोकमा बदलिदियो।
घटनामा महिलासहित ११ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने ५० भन्दा बढी समर्थक घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनापछि चिन्नास्वामी स्टेडियम र वरपरको क्षेत्र एकाएक त्रासपूर्ण बनेको थियो।
प्राप्त जानकारी अनुसार, हजारौंको सङ्ख्यामा समर्थकहरू स्टेडियम अगाडि विजय जुलुस हेर्नका लागि बिहानैदेखि जम्मा हुन थालेका थिए। मुख्य प्रवेशद्वार नजिक अत्यधिक भीड भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो। त्यही समयमा हल्का वर्षा सुरु भएपछि मानिसहरू आत्तिएर दौडिन थाले, जसका कारण भागदौड मच्चिएको हो।
भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा ल्याउने प्रयासमा हल्का बल प्रयोग गरेका थिए। घटनास्थलमा लाठीचार्जसमेत भएको पुष्टि भएको छ। यस क्रममा कैयौं मानिस लडेर च्यापिए, जसका कारण मृत्यु र घाइतेको संख्या बढेको बताइएको छ।
बेंगलुरुस्थित बोवरीङ अस्पतालमा १९ जना घाइतेलाई भर्ना गरिएकोमा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, वैदेही अस्पतालमा भर्ना गरिएका ८ जनामध्ये ४ जनाको ज्यान गएको पुष्टि भएको छ।
घटनापछि कर्नाटकका उपमुख्यमन्त्री डी.के. शिवकुमारले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, "यो दुःखद घटना हो। हामीले कार्यक्रम छोट्याएका थियौं र अब सबै जनतालाई शान्त रहन अनुरोध गर्छौं। मृतक र घाइतेको यकिन संख्या पुष्टि भइसकेको छैन, तर सरकार पीडितहरूको साथमा छ।"
सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियोहरू सार्वजनिक भएका छन्, जसमा घाइतेलाई स्थानीयहरूले उठाउँदै अस्पताल लैजाँदै गरेको, कतिपयलाई घटनास्थलमै प्राथमिक उपचार दिइरहेको देखिन्छ।
हाल घाइतेहरूको उपचार बेंगलुरुका विभिन्न अस्पतालहरूमा जारी छ। राज्य सरकारले तत्काल आपतकालीन सेवा सक्रिय गर्दै घटनाको गम्भीर छानबिन गर्ने घोषणा गरेको छ। प्रारम्भिक अनुसन्धानले आयोजक पक्षको लापरवाही र असक्षम भीड व्यवस्थापनलाई दुर्घटनाको कारण मानेको छ।
आरसीबीको विजयले जसले लाखौं समर्थकको मन जितेको थियो, त्यो खुशी एकाएक नरमाइलो दुर्घटनाले ढाकेको छ। अब प्रश्न उठेको छ-के हाम्रा सार्वजनिक कार्यक्रमहरू यति असुरक्षित हुनुपर्ने?
राज्य सरकार, आयोजक र प्रहरी प्रशासनको उत्तरदायित्व र तयारीको पुनः समीक्षा आवश्यक देखिन्छ, ताकि भविष्यमा यस्ता दुःखद घटना पुनः नदोहोरिउन्।