Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टीका ली जे–म्युङ विजयी भएका छन्। राष्ट्रिय निर्वाचन आयोगले ली कोरियाको २१औं राष्ट्रपतिका रूपमा निर्वाचित भएको घोषणा गरेको छ।

लीले ४९ प्रतिशत मत प्राप्त गरेको र प्रमुख प्रतिद्वन्द्वी, पीपल पावर पार्टीका किम मुन–सूले ४२ प्रतिशत मत प्राप्त गरेका छन्। यो निर्वाचन पूर्व राष्ट्रपति यून सुक योलको पदच्युतिपछि सम्पन्न भएको हो।

योलले आपतकालीन अधिकार प्रयोग गर्दै मार्शल ल लागू गरेपछि तीव्र जनविरोध भएको थियो, जसले उनको पदबाट बर्खास्तीको मार्गप्रशस्त गर्‍यो । योलले सन् २०२२ को निर्वाचनमा लीलाई पराजित गरेका थिए। यस निर्वाचनमा नागरिकहरूको सहभागिता उल्लेखनीय रह्यो । ७९ दशमलब ४ प्रतिशत मतदाता सहभागी भएका थिए। यो सन् १९९७ यताकै सबैभन्दा उच्च सहभागिता हो।

विजय प्राप्त गरेपछि राष्ट्रपति निर्वाचित लीले राजधानी सोलस्थित राष्ट्रिय सभाभन्दा बाहिर भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्र एकतामा आधारित शासन गर्ने प्रतिबद्धता जनाएका छन्।

पछिल्ला वर्षहरूमा चिसिएको अन्तर–कोरियाली सम्बन्धलाई नयाँ उचाई दिने लीको प्रतिवद्धता रहेको छ। लीले स्थानीय समय अनुसार आज विहान ११ बजे शपथग्रहण गर्ने कोरियाली सञ्चारमाध्यम योनहापले जनाएको छ।