Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राजावादीले भोली काठमाडौं उपत्यका बन्द गर्ने

राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो । 

पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग जोडदार माग गरेको छ  ।

विज्ञप्तिमा भनिएको छ- 'सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु ।'

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै प्रहरीको घेरा तोडेर बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता, कार्यकर्ता पक्राउ परेका थिए ।

त्यस्तै अध्यक्ष थापालाई भेट्न जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेका राप्रपा सांसद दीपक सिंहलाई परिसरबाटै पक्राउ गरिएको थियो । 

rajabadi_61748788588.jpg