बुधवार जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ७ बजे मस्तिष्कघात भएपछि उनका परिवारले बिहान १०:३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरेका छन् । उनको हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोट र त्यसपछिको हत्याकाण्डमा संलग्न भएको आरोपमा जेल परेका थिए ।
संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमको योजनामा बम बनाउने क्रममा विस्फोट भएको थियो, जसमा दुई जनाको मृत्यु भएको र ११ जना घाइते भएका थिए । घाइतेहरूलाई उनले आफन्तको इँटाभट्टामा ज्युँदै जलाएर हत्या गरेको अभियोग लागेको थियो ।
पीडितका आफन्त शेख रुक्सना खातुन र श्री नारायण सिंहले दिएको जाहेरीमा आलममाथि १४ जनाको हत्या गरेको आरोप थियो । १२ वर्षपछि २०७६ असोज २७ गते उनी पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा उनलाई जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालत वीरगञ्जले २०८२ जेठ १४ गते सफाइ दिएको थियो ।