Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बजेटलगत्तै बढ्यो अण्डाको मूल्य, अब कति पर्छ?

नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो । 

संघले १७ गते (शनिबार)देखि लागु हुनेगरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेड १५ रुपैयाँ बढाएर ४८० रुपैयाँ पुर्‍याएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेड ४६५ रुपैयाँ थियो । ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएर ४६५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँ थियो । 

त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट १० रुपैयाँ बढाइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४२५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले बताए । 

त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यही अनुरुप हाल बजारमा पाउँदै आएको अण्डाको मूल्य बढ्ने उनले बताए ।