Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गृहमन्त्रीको राजीनामा नभएसम्म संसद् अवरुद्ध गर्ने माओवादीको निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ।

शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले छानबिन सहज बनाउन राजीनामा दिनुपर्नेमा जोड दिएको हो। बैठकले गृहमन्त्रीले पद नछाडेसम्म संसद्का कुनै पनि गतिविधिमा सहभागी नहुने स्पष्ट पारेको छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि जानकारी दिँदै भने, “संवैधानिक व्यवस्थाअनुसार हामीले बजेट प्रस्तुत गर्न दिएँ। अब भने बजेटमाथिको छलफल अघि बढ्न गृहमन्त्रीको राजीनामा अनिवार्य छ।” उनले संसद् सञ्चालन अवरुद्ध गर्ने निर्णयमा खुमलटार बैठकले पुनः एकमत व्यक्त गरेको जानकारी दिए। “गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्का कुनै पनि प्रक्रिया अघि बढ्न दिने छैनौँ,” प्रवक्ता सापकोटाले दोहोर्‍याए।

बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशन बारे पनि छलफल गरेको जानकारी छ। बैठकमा गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता समायोजन बारे छलफल भएको  थियो ।