अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए ।
मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए । पौडेलले मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
प्रदेशगत रूपमा मधेस, कोसी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।
गत फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो । यसैगरी मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ ।
सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा
सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको बताएका हुन् ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् । २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ ।
कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । ०७९/८० को तुलनामा ०.२३ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको अर्थमन्त्री पौडेलले बताए । त्यस्तै, १५ वटा संस्थान घाटामा रहको उनले बताए । दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।