Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्रीले जे जे गरेपनि काँग्रेसले छुट दिंदै जाने ?

'प्रधानमन्त्री ओलीका बारेमा कुरा होला भनेको मेरो बारेमा भएछ'

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् । मंगलबार बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने,‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ ।’

कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर राजनीतिक र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिंकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए । उनले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।

‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरेपनि कांग्रेसले छुट दिंदै जाने ?’ उनले प्रश्न गरे । पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।