Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

‘ब्रेक फेल’ भएको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

मकवानपुरको थाहा नगरपालिका–३ स्थित विद्युत प्राधिकरण नजिकै त्रिभुवन राजपथमा ‘ब्रेक फेल’ भएको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सोमबार साँझ करिब ६ः५९ बजे गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरभित्र पसेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी निरीक्षक सविनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । दुर्घटनामा परेकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल ठेगाना नखुलेका करिब ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुर रहेका छन् । दुवैको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका क्रममा साँझ ७ः२५ बजे मृत्यु भएको थियो । त्यस्तै, गम्भीर घाइते भएका रघुनन्दन यादव र कमलेश कुमार साहलाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ ।

घाइते अन्य दुई जनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ निवासी छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ निवासी रामगुलाम चौधरी छन् । उनीहरूको अवस्था सामान्य रहेको र पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि थाहा नगरपालिका–५ निवासी २९ वर्षका बस चालक राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पालुङले जनाएको छ ।