राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले प्रमाण नहुँदा पनि रविविरुद्ध मुद्दा चलाइएको बताएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निकिताले नियत नै राखेर रविलाई थुनिएको बताएकी छन् ।
निकिता पौडेलले अदालत प्रशासनले आफूमाथि गैरजिम्मेवारीपन देखाएको आरोप लगाएकी हुन्। "केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्विरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ?," निकिताले लेखेकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै निकिताले आफ्नो श्रीमानको आदेश सुन्न अदालतका प्रवक्ताको कार्यकक्षमा कुरिरहँदा आफूलाई सुनाउनुपूर्व मिडियामा चुहाएको गुनासो गरेकी छन्। निकिताले दुई बजे बहस सकिएपछि आफू ७ घण्टासम्म आदेश कुरेर बसेको तर आफूले अदालतबाट आधिकारिक जानकारी पाउनुपूर्व मिडियाबाट आदेशबारे खबर थाहा पाएको बताएकी छन्।
निकिताले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आफ्नो आस्था र विश्वासको जग बेस्सरी हल्लिए बताउँदै भनेकी छन्, ‘थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!’
उनले लेखेकी छन् -
त्रास अझै बाँकी छ...!
जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगेँ । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले । अन्याय हुँदैन भन्ने लागिरह्यो ।
हाम्रो तर्फबाट बहस राम्रो भयो । बेन्चका हरेक प्रश्नको कानुन व्यवसायीको तथ्यपूर्ण जवाफ । बहसले तथ्य पक्रेर आदेश गर्न बेन्चलाई प्रशस्तै आधार दिएको ठानेँ । न्यायप्रतिको विश्वास झनै बढ्यो ।
करिब २ बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे । केहीपछि सहरजिस्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए । आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।
‘एकैछिन है...’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए ।
‘श्रीमान् त निस्किनुभयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता । बाहिर निस्किँदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनम पढेँ’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु । म निवेदक, मेरो श्रीमान्बारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिकरूपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।
शुक्रबारको तनाव, अनिद्रा र रुवाइ...! जिन्दगीकै अत्यन्तै कठिन दिन ।
भोलिपल्ट (शनिबार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिँडे होला । कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन । सायद जिउँदो लास भएर हिँडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस् खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किएँ ।
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान्विरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ?
गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ । थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !