Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’  “पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ भन्ने पार्टीले निष्कर्ष निकालेको छ,” उनले भने । 

गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । “जति ढिला भयो उति साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष हो,” सापकोटाले भने ।

स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’