Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तीनकुने प्रदर्शन: दुर्गा प्रसाईँसहित २० जनाविरुद्ध जन्मकैद मागसहित मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित २० जनाविरुद्ध जन्मकैदको मागसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीसहितका राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईं, सर्वोच्च अदालतको आदेशमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य धवल शमशेर राणासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणा र प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुर पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको छ । अरू ११ जनालाई आपराधिक उपद्रव कसुरमा पनि मुद्दा दायर गरिएको छ । तीमध्ये प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा पनि विपक्षी बनाइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माका अनुसार, ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमा ५० जनामाथि राज्यविरुद्धको कसुर, ११ जनामाथि आपराधिक उपद्रव र ८ जनामाथि ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको छ । यस्तै, चार नाबालकविरुद्ध बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ।