Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भिजिट भिसा प्रकरणमा सुमनाको आक्रोश: तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले ‘भिजिट भिसा’ प्रकरणलाई मानव तस्करीको संज्ञा दिँदै यसमा संलग्नहरूलाई ‘नर्क पनि प्राप्त नहुने’ भन्दै आक्रोश व्यक्त गरेकी छन्।

आज (शनिबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो जघन्य अपराध ‘माथिको आशीर्वाद’ बिना सम्भव नहुने भन्दै उच्च तहको संलग्नतातर्फ संकेत गरेकी छन्।

सांसद श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो ! आफ्नै छोराछोरीहरूलाई, अन्जान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईंहरु सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली– तपाईंहरुलाई नर्क पनि प्राप्त हुन्न होला !’

उनले यस प्रकारको अपराधमा उच्च पदस्थ व्यक्तिहरूको संरक्षण रहेको आशंका गर्दै प्रश्न गरेकी छन्, ‘माथिको आशिर्वाद नभइ यो सम्भव हुँदैन भन्ने अनुसन्धान अधिकृतको कुरा छ, सहसचिवलाई माथिको आशिर्वाद क–कसको हो ?’