Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तीनकुने घटनाः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौंको तीनकुने घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयका प्रवक्ता गकुलबहादुर निरौलाका अनुसार प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको हो।

प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल समक्ष दिएको छ। अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन्। २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो । त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ । यस्तै यस घटनामा दुर्गा प्रसाईंसहित तीनै जनाविरूद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ। अदालतमा मुद्दा दर्ता गरेसँगै पुर्पक्षको लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ।