Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सत्ताधारीहरू नालायक बन्दा समाजको निराशाले अझ भयावह रूप लिनसक्छः घनश्याम भूसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले मुख्य दलहरूले राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताएका छन्। आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव भूसालले गणतन्त्र आउँदासम्म पनि बेरोजगारी र कुशासन रहिरहनु इतिहासकै कलङ्क र अपमानको पाटो भएको पनि बताएका छन्।

राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेण्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेको उनको भनाइ छ । सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिने उनको बुझाइ छ । 

‘राष्ट्रको नयाँ जीवनका लागि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थियौँ । वंश, लिङ्ग, जात वा धर्मका आधारमा कसैसँग विशेषाधिकार नहुने अर्थात् सबै नागरिक समान हुने र समावेशीताका आधारमा सबै जातजाति, भूगोल र लिङ्गलाई समेटेर यस व्यवस्थाले राज्यलाई वास्तविक रुपले राष्ट्रिय बनाएको छ’, भुसालले भनेका छन्, ‘यो नेपाली इतिहासको गौरवपूर्ण पक्ष हो । तर गणतन्त्र आउँदासम्म पनि बेरोजगारी र कुशासन रहिरहनु हाम्रो इतिहासको कलङ्कको, अपमानको पाटो हो ।’

भूसालले मुख्य दलहरूले राजनीतिलाई केवल सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको दाबी गरेका छन्। ‘यो राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका छन्’, भुसालले भनेका छन्, ‘सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिनेछ।’ उनले नागरिकलाई नयाँ जीवनको बाटो नदेखाउने कुनै पनि व्यवस्था संसारभरि कहीँ पनि सुरक्षित नभएको भन्दै यसलाई राष्ट्रिय एजेण्डा बनाउन ढिलो भइसकेको बताएका छन्।

‘नागरिकका लागि नयाँ जीवन भनेको रोजगारी र सुशासन ह । भ्रष्टाचार नगर्ने राजनीतिक नेतृत्वका साथ कृषि, उद्योग, पर्यटन, जलविद्युत तथा पूर्वाधारको योजनाबद्ध विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संकल्प गर्ने हो भने १० वर्षमा सबै युवालाई रोजगार बनाउन र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार–ढिलासुस्तीलाई हटाउन सकिन्छ, मुलुकले कोल्टे फेर्छ। अपमानको इतिहासबाट मुलुकले मुक्ति पाउँछ’, उनले भनेका छन्, ‘त्यसैले आउनुहोस् छलफल गरौँ ।’