Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिटिजन्स बैंकद्वारा मानसिक स्वास्थ्यमा समर्पित दृष्टि फाउण्डेसनलाई सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा क्रियाशील दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ। लामो समयदेखि मानसिक स्वास्थ्य समस्या भोगिरहेका र परिवारविहीन महिलाहरू तथा तिनका बालबालिकाहरूको सेवामा समर्पित यस संस्थालाई बैंकले करिब दुई महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको छ।

संस्थामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्रीहरू हस्तान्तरण गर्दै यस्तो सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताए। उनले यस्तो संस्था समाजमा प्रेरणाको स्रोत भएको उल्लेख गर्दै संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना पनि दिए।

बैंकले सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ। यसै क्रममा आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक कार्यक्रम विस्तार गर्ने बैंकको योजना छ।

हालै मात्रै “बैंक अफ द ईयर २०२४“ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र ऋण किस्ता भुक्तानी जस्ता सेवा तथा क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइमार्फत करिब १८ लाख ९१ हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।