Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नव नियुक्त गभर्नर डा. पौडेलले लिए शपथ

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका छन्। पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग शपथ लिएका हुन् ।

गभर्नर प्रधानन्यायाधीशसँग शपथ लिने कानुनी व्यवस्था छ । पौडेल शपथ लिएर पद बहाली गर्न नेपाल राष्ट्र बैंकतर्फ लागेका छन् । पौडेलले आज नै पदभार ग्रहण गर्दैछन् । सरकारले मंगलबार अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।

पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचनमा पराजित भए पनि पुनः अध्यापन पेसामा फर्केका पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल पद छाडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गएका थिए ।