Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विश्व पौडेललाई गभर्नर बनाउने जुट्यो सहमति

आज हुने मन्त्रिपरिषद्को बैठकबाट गभर्नरको घोषणा हुने भएको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक मंगलबार बेलुका बोलाएका हुन् । सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजेका लागि बोलाइएको हो । बैठक बालुवाटारमा बस्ने भनी सूचना  मन्त्रीहरूलाई दिइएको छ ।

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिलगायत समसमायिक राजनीतिक विषयमा छलफल भएपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।मन्त्रिपरिषद् बैठक अघि गभर्नरको नियुक्तिका लागि सिफारिस समितिको बैठक बस्ने भएको छ । दुई नेताको भेटपछि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर नियुक्ति सिफारिस समितिको बैठक पनि बोलाइसकेको सम्बद्ध स्रोतले जनाएको छ ।

सिफारिस समितिको बैठकले ३ जनाको नाम सिफारिस गर्नेछन। सो नामबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नर नियुक्त गर्नेछ। सोमबार प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटारमा भेट  प्रस्ताव गरेका थिए । सो बैठकमा देउवा नभएपछि राजीतिक स्थितिबारे सत्ता गठबन्धनमा तनाव सिर्जना भएको थियो ।

आज ओली र देउवाको भेटपछि स्थिति सामान्य बनेको पर्यवेक्षकहरूले बताएका छन् । देउवाले गभर्नरका लागि योजना आयोगका पूर्व उपाध्यक्ष डा। विश्व पौडेललाई प्रस्ताव गरेका छन्। आज उनको नाममा छलफल गरेर मन्त्रिपरिषद्बाट घोषणा गरिने विश्वास पर्यवेक्षकहरूको छ ।