Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हिमताल फुटेको तिलगाउँका बासिन्दाको उद्धार गर्न सांसद लामाको माग

प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानार्कषण गराएका हुन् ।

१८ परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको उनले सदनलाई जानकारी दिए। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ताल फुटेर ५ वटा काठे पुल र सिँचाइ प्रणालीमा क्षति पुर्‍याएको बताए ।

‘हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ,’ लामाले भने, ‘करिब ४ हजार ७ मिटर उचाइँको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको छ।’ उनले थपे, ‘काठको पुल ५ वटा बगाएको छ। चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलो क्षति पुगेको छ । १५ किलोवाटको विद्युत पनि क्षति पारेको छ।

‘पहिरोपीडिहरु असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्’, सांसद लामाले भने, ‘उनीहरुको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानार्कषण गराउँछु।’ तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन्। यही जेठ १ गते मध्यराति गएको पहिरोबाट १८ परिवार जोखिममा रहेका बताइएको छ। सांसद लामाले हिमाल नजिकका बस्तीहरु दैवी प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानार्कषण गराए।