Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पोखरा उच्च अदालतले दियो रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन आदेश

पोखरा उच्च अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित अभियुक्त रहेको यस मुद्दाको मिसिल जिल्ला अदालतबाट झिकाउने गरी उच्च अदालतले आदेश गरेको हो।

मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लगातार तीन दिनको सुनुवाइपछि आज आइतबार यस्तो आदेश दिएको हो। जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सरकारी वकिलले लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् भने उक्त धरौटी बढी भएको भन्दै लामिछानेले पनि निवेदन दिएका छन् । दुवै पक्षका निवेदनमाथि एकसाथ सुनुवाइ अगाडि बढेको छ ।

लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल र लीला पछाईसँग सम्बन्धित निवेदन पनि एकसाथ राखिएको छ । लामिछानेका कानुन व्यवसायीले भने आफूहरूलाई थाहै नदिई सुनुवाइ अगाडि बढाएको भन्दै इजलासमा प्रश्न उठाएका थिए।

यसअघि बुटवलको सुप्रिम सहकारीको ठगीमा जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। लामिछाने रुपन्देही कारागारमा छन्।