Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एकैदिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यतिबेला पोखरामा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय बनेको छ ।

पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अव नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुदाँ यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ । कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो ।

कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।  कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए ।  जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । यसै गरी शनिवार नै विन्ध्यवासिनी पिठाधिस वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए ।

Photo (2).jpg

शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता, बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले शनिवार विशेष कार्यक्रमका बिच पोखरेललाई बिदाइ गरेका हुन् । उनले ७ दिन सम्म महायज्ञमा कथा वाचन गरेका थिए । भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले  कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी  दिउसो २ बजे देखि ६ बजे सम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

भोलि नवलपुरबाट थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागि हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।