Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कांग्रेसकै सांसदले भने– सरकार सरकार जसरी चलेन

‘राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो’

सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दुई पार्टी मिलेर बनेको सरकार सरकार जसरी चल्न नसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गौतमले‍ सांसदको हैसियतले त्यस्तो अनुभूति गरेको बताएका हुन् ।

‘अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकार जसरी चलेको अनुभूति गर्न सकेको छैन’, उनले भने । उनले संसदमा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो त्यो हुन नसकेको पनि बताए । ‘संसद जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन’, उनले भने ।

उनले न्यायपालिकमा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए । ‘जनता निराश छन् । जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौँ । एक किसिमको सोच र सम्भावना क्रियट गर्न सकेका छैनौं’, गौतमले भने ।

उनले शीर्ष नेताहरूले राष्ट्रिय सहमति गर्ने बेला आइसकेको समेत बताए । ‘अब बेर भइसक्यो, एक पटक शीर्षस्थ नेताले टाउको जोड्नुस् । अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सकौं, संविधान संशोधन गर्न सकौ’, उनी भन्छन्, ‘जनतामा आशा र भरोसा पैदा गर्न सकौं र मुलुकलाई निश्चित दरीसँग हिँड्न सके मुलुकलाई एक ठाउँमा पुर्‍याउँला ।’ सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।