Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिंहदरबारमै बिजुली गएपछि मोबाइल बालेर बैठक, तस्बिर भयो भाइरल

काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली गएको छ।आज शुक्रबार पनि बिहीबार जस्तै देशैभरि विद्युत् आपूर्तिमा समस्या देखिएको हो । झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सर्वसाधारण हैरान भएका छन् ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला बिजुली गएपछि मोबाइल फोन बालेर बैठकलाई निरन्तरता दिइएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार, करिब ५ मिनेटअघिदेखि विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको थियो । अहिले उपसमितिमा शिक्षा विधेयकबारे छलफल भइरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ ।

शुक्रबार पनि सर्वसाधारणले पटक–पटक यस्तो समस्या झेलेका छन् । भारतबाट नेपालमा भइरहेको बिजुली आयातमा समस्या आउँदा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणमा नेतृत्व फेरिएसँगै यस्तो समस्या बढेको आरोप लागेको छ ।

सरकारले दुई महिनाअघि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरी बत्ती जाने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । बैठकको उक्त तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।