Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशियाले सार्वजनिक गर्यो लिलाम बिक्री गर्नेसम्बन्धी अनलाइन पोर्टल

एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमार्फत लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूका बारेमा जानकारी दिइने जनाएको छ । त्यसका लागि ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गर्नु पर्नेछ । क्यूआर कोड स्क्यान गरेपछि आउने पोर्टलमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका सबै जानकारीहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, ग्राहकहरूले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिका बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने गत आर्थिक वर्षमा मात्र ३ अर्ब ६१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई दाखिला गरेको छ ।