Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

डडेल्धुराबाट देउवालाई प्रचण्डको फोन, के-के भयो कुराकानी?

डडेल्धुरा पुुगेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्झिएका छन्।

पार्टीको ‘मध्यपहाडी लोकमार्ग’ अन्तर्गतको अभियान सुरुवात गर्न डडेलधुरा पुगेका प्रचण्डले कांग्रेस सभापति देउवालाई त्यहींबाट फोन गरेका छन्। डडेलधुरा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाको गृह जिल्ला हो। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलगायतका माओवादी केन्द्रका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए।

देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए। ‘डडेल्धुरा शेरबहादुर देउवाको जिल्लाले चिनिन्छ। उहाँसँग कुराकानी भएको थियो । मेरो जिल्लामा तपाईंलाई स्वागत छ भन्नुभयो । उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो। अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नु भएको छ’, प्रेस सेन्टर नेपाल डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए।

यद्यपि दुई नेताबीच टेलिफोन कुराकानी बिहान भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । अभियानको क्रममा देउवाको गृह जिल्लामा भएकाले जानकारीमूलक कुराकानी भएको आचार्यले बताए।