Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । नौ वर्षदेखि विचाराधीन विधेयक आज शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतरूपमा पारित गरेको हो ।

विधेयक पारित भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेका  छन्। ‘विगत नौ वर्षदेखि विचाराधीन रहेको निजामती विधेयक आज राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसहमत रूपले पास गराउन सफल भएका छौं,’ मन्त्री गुप्ताले भने, ‘र, यसका लागि राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलगायत सम्पूर्ण माननीय सदस्य र यो विधयेक तयार पार्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, कर्मचारीलगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन हाल्नुभएको थियो । संशोधन प्रस्तावसमेतलाई एकैठाउँमा राखेर दफावार छलफल गरी संसदीय समितिले विधेयक पारित गरेको हो ।