Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मेयर बालेनले गरे चार समितिका संयोजकको जिम्मेवारी हेरफेर, प्रवक्ताबाट हटाइए मानन्धर

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत चार वटा समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका छन् । काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।

यसरी परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजीना श्रेष्ठ संयोजक तोकिएका छन् ।बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई अघोषित रुपमा कारवाही गरेको स्रोत बताउँछ । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध खुलेर उत्रिएकाहरुलाई उनले निशाना बनाएको स्रोतको भनाइ छ।

पछिल्लो समय बालेनका विभिन्न क्रियाकलापहरुप्रति खुला असहमति जनाएका वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाइएको छ । यससँगै उनले महानगरको प्रवक्ताको जिम्मेवारी पनि गुमाएका छन् । प्रशासकीय अधिकृत सरोज गुरागाईलाई नगर प्रहरीको अवरोध बाबजुद कार्यालय प्रवेश गराउन मानन्धरले अग्रणी भूमिका खेलेका थिए । नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ ।