Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भन्ने जनताको व्यापक असन्तुष्टि सुनियोः सांसद किराती

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले अघोषित लोडसेडिङ हुन थालेको गुनासो जनस्तरबाटै आउन थालेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि बिजुली जान थालेको व्यापक जनगुनासो आएको बताए ।

sudan-kirati2024-07-23-16-14-37.jpg

‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा बत्ती गएको देखियो । कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो’, उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो ? या कमजोर व्यवस्थापनको परिणाम हो ?’

उनले घिसिङ हुँदा नाफामा गएको कम्पनी हितेन्द्रदेव शाक्य आएपछि कसरी घाटामा गयो भनेर पनि प्रश्न गरेका छन् । ‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने ?’, उनी भन्छन्, ‘प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो ?’